चन्द्रागिरिमा कात्तिक १३ देखि औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुँदै
काठमाडौं । चन्द्रागिरि नगरपालिका–६, मातातीर्थस्थित चौरमा कात्तिक १३ गतेदेखि चन्द्रागिरि औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । कात्तिक ३० गतेसम्म संचालन हुने महोत्सवको तयारी आयोजकले तीव्र पारेका छन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा हुन लागेको महोत्सवको व्यवस्थापन औद्योगिक शान्ति नेपालले गर्नेछ । स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक गतिविधिको प्रवद्र्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले यसअघि पनि एक महिने लामो महोत्सवको आयोजना गरेको थियो । महोत्सवले स्थानीय उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नुका साथै चन्द्रागिरिको आर्थिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?