नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा शुभकामना आदानप्रदान, आपसी सद्भाव, र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास
काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, नेपाल सम्वत ११४७ र छठ पर्वको अवसरमा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित समितिको मुख्यालयमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मालबाहकतर्फका उपाध्यक्ष एवम् नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले करिव १५ वर्षपछि समितिले आफ्नै भवनमा शुभकामना आदानप्रदान गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले मुलुकको अहिलेको विषम परिस्थितिबाट उठेर चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो । श्रेष्ठले व्यवसायीहरुलाई विना तडकभडक, उत्साह र हर्षोल्लाषका साथ पर्व मनाउन पनि आग्रह गर्नुभयो ।
यस्तै, समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पन्तले प्रत्येक वर्षझैं यसवर्ष पनि समितिले शुभकामना आदानप्रदानलाई निरन्तरता दिएको खुशी व्यक्त गर्नुभयो । विगतमा भएका कमिकमजोरीलाई सच्चाउँदै अघि बढ्न समितिलाई आग्रह गर्दै निवर्तमान अध्यक्ष पन्तले चाडपर्वले नराम्रा प्रवृत्ति छोडेर राम्रा कुरा अंगाल्ने परिस्थिति बनाउन सकोस् भन्ने कामना समेत गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् समितिका अध्यक्ष अमर श्रेष्ठले सबैको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस्ता भेटघाट तथा चियापानले आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिएको बताउनु भयो । आत्मीयता र सहकार्यले आगामी दिनमा सकारात्मक काम गर्न थप ऊर्जा प्रदान गर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
समितिका सचिव प्रदिप बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हेमराज श्रेष्ठ, द्वितिय उपाध्यक्ष कुमार श्रेष्ठ, तृतिय उपाध्यक्ष मनोज कार्की, सह–सचिव दिपेन्द्र थापा, कोषाध्यक्ष राजन श्रेष्ठ, सह–कोषाध्यक्ष सविन कुमार राई, समितिका पदाधिकारीहरु, कर्मचारी, ट्रिपर तथा ट्रक व्यवसायी तथा विभिन्न अतिथिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?