काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको जानकारी दिएको छ । खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने फूल भारतबाट अवैध रुपमा आयात हुँदै आएको थियो । प्रशासनको निर्देशनपछि फूलको अवैध आयात रोकिने विश्वास गरिएको छ ।
झापामा फूल खेती गर्दै आएका किसानले आयातित फूलका कारण स्वदेशी उत्पादन खेर गइरहेको भन्दै फूलको गैरकानुनी आयातमाथि पूर्ण प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सामूहिक माग गर्दै आएका थिए । यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्ति लगायतका पालिकाहरुमा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन् । चाडबाडको समयमा घरआँगन सजावटका लागि स्थानीय रूपमा उत्पादित ती प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान गरिएको छ ।
प्रशासनको उक्त कदमले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात रोकिने र जिल्लाका स्थानीय फूल उत्पादक कृषकले आफ्नो मिहेनतको उचित मूल्य पाउने विश्वास गरिएको छ । प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?