काठमाडौं । चाडपर्वका लागि आवश्यक सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका आजदेखि तीन दिनका लागि अस्थायी रूपमा संचालनमा आएको छ । नाका खुलेसँगै चीनको सिचाङ क्षेत्रबाट मालवाहक सवारीसाधन नेपाल भित्रिन थालेका छन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीले दशैँका सामग्रीसहित अन्य अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खुला गरेको जानकारी गराउनु भएको हो । नाका संचालनमा आएपछि चाडपर्व लक्षित व्यापारिक सामग्री नेपाल ल्याउने बाटो खुलेको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले चीनको न्यालम क्षेत्रमा ४५ भन्दा बढी कन्टेनर नेपाल आउने तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । लिपिङ र कोदारी क्षेत्रमा समेत मालवाहक कन्टेनरको चाप रहेको उहाँले बताउनु भयो ।
चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्णरूपमा बन्द गरेको थियो । अस्थायी रूपमा नाका संचालनमा आएसँगै दशैँका लागि आवश्यक सामग्रीको आयात तथा आपूर्ति व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?