काठमाडौं । नेपाल टेलिकमले वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सहुलियत दरमा इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारी स्वामित्वको टेलिकमले नयाँ प्याकेज संचालनमा ल्याएको हो ।
टेलिकमले ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिमा आधारित विभिन्न प्याकेज उपलब्ध हुनेछन् । वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा समेटिएको प्याकेजमा १०० एमबीपीएस गतिको इन्टरनेटका लागि ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध हुने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभयो । वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट लाग्दै आएको ५०० रुपैयाँ जडान शुल्कसमेत नलिने व्यवस्था गरिएको छ । टेलिकमले यी सुविधा आजदेखि लागू हुनेछन् । सहुलियत मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने यो योजनाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार प्याकेज छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?