काठमाडौं । जनैपूर्णिमाको अवसरमा बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा भक्तजनको भीड लागेको छ। काभ्रेसहित काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकबाट आएका श्रद्धालु पूजाआजा र दर्शनका लागि पुगेका छन्।
गोसाइँकुण्डसँग धार्मिक सम्बन्ध रहेको विश्वास गरिने यस स्थलमा शिव मन्दिरमा पूजाआजा, जनै तथा रक्षाबन्धन लगाउने परम्परा छ। तामाङ समुदायले झाँक्री विधिबाट पूजा गर्ने तथा नेवार समुदायले अन्तपात चढाउने चलन पनि छ।
गोसाइँकुण्ड पुग्न नसक्नेले गोसाइँस्थानमा दर्शन र स्नान गरे मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। जनैपूर्णिमाका दिन यहाँ हरेक वर्ष विशेष मेला लाग्ने गरेको स्थानीय बताउँछन्।
पछिल्लो समय सडक, सिँढी र अन्य पूर्वाधारमा सुधार तथा मन्दिर र भजन भवन निर्माण भएपछि क्षेत्रको आकर्षण थपिएको छ। धार्मिक आस्थासँगै प्राकृतिक दृश्यावलोकन र हाइकिङका लागि समेत गोसाइँस्थान लोकप्रिय बन्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?