कांग्रेसको नवनिर्वाचित कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन)मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकाले आज अन्य पदाधिकारी तथा सदस्यहरूले शपथ लिन लागेका हुन् ।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरूका बारेमा पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?