नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा–प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन, संयोजकमा डा.जनार्दन लामिछाने
काठमाडौं । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाबमोजिम प्रज्ञा सभा गठन तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्मका लागि समितिलाई बढीमा तीन महिनाको जिम्मेवारी दिइएको छ ।
मन्त्रीस्तरको २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार गठित समितिमा डा. लामिछाने संयोजक तथा डा. गोपालबहादुर केसी, डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ सदस्य रहेका छन् ।
कात्तिक १२ गते मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा. महावीर पुनले समितिका संयोजक तथा सदस्यहरूलाई मनोनयनपत्र प्रदान गर्नुभएको छ । सो अवसरमा उहाँले अध्यादेशको मर्मअनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा–प्रतिष्ठान पुनर्संरचनाका लागि आवश्यक नियमावली तथा विनियमावलीको मस्यौदा तयार गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अघि बढाउने र प्रतिष्ठानको अध्यक्षको निर्वाचन तथा उपाध्यक्षको मनोनयन प्रक्रिया अगाडि बढाउनेलगायतका काम तत्काल सुरु गर्न निर्देशन दिनुभयो ।
नवनियुक्त अन्तरिम व्यवस्थापन समितिका संयोजक तथा सदस्यहरूले मन्त्रालय र सरोकारवालाहरूसँग समन्वय गरी अध्यादेशमा व्यवस्था भएअनुसार प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी आधारभूत काम तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तरिम व्यवस्थापन समितिको गठनसँगै नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा–प्रतिष्ठान संस्थागत पुनर्संरचना, प्राज्ञ सभाको गठन तथा नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?