बाढी प्रभावित महिला तथा किशोरीलाई स्वास्थ्य सेवा र ‘डिग्निटी किट’ वितरण
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित महिला तथा किशोरीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी किट’ र मनोसामाजिक परामर्श दिन थालिएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले अस्थायी आश्रयस्थलमा रहेका महिला तथा किशोरीलाई आवश्यक सामग्री वितरण गरिरहेका छन् । विपद्मा घरबार र आफन्त गुमाएका प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत संचालन गरिएको छ ।
युएनएफपिएले हालसम्म २ हजार डिग्निटी किट, ४ सय किशोरी किट र ३ हजार तारपोलिन वितरण भइसकेको छ । स्वास्थ्य शिविरमार्फत प्राथमिक उपचारसँगै यौन तथा प्रजनन स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श पनि उपलब्ध गराइएको छ ।
नुवाकोटका ककनी, किस्पाङ, विदुर, बट्टारलगायतका अस्थायी आश्रयस्थलमा रहेका महिला तथा किशोरीले सेवा पाएका छन्। रसुवा र धादिङका प्रभावित क्षेत्रमा पनि डिग्निटी किट वितरणको तयारी भइरहेको नेपाल रेडक्रसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?