भोटेकोशी बाढी : वीर र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शैय्या छुट्याइयो
काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शैय्या छुट्याइएको जनाएको छ ।
आज विहान अकस्मात आएको भोटेकोशी बाढीमा परेका तीन जना घाइतेको उद्दार गरी काठमाडौं ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।
आपतकालीन स्वास्थ्य सेवाका लागि काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ ।
त्यसैगरी आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको र आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?