काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएका छन् ।
गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो ।
दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?