महिला यू–१९ विश्वकपको तयारीमा नेपाली टोली, भैरहवाको बन्द प्रशिक्षण सम्पन्न
काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपलाई लक्षित गर्दै भैरहवामा संचालन गरिएको नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न भएको छ । असोज २० गतेदेखि सिद्धार्थ क्रिकेट रङ्गशालामा सुरु भएको १३ दिने प्रशिक्षण आइतबार सकिएको हो ।
बन्द प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आवश्यक खेल कौशल, क्षमता र तयारीलाई थप सुदृढ बनाउने उद्देश्यले प्रशिक्षण संचालन गरिएको हो ।
रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्लले सन् २०२७ को जनवरी–फेब्रुअरीमा नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई ध्यानमा राखेर खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण आयोजना गरिएको हो ।
प्रशिक्षणबाट युवा खेलाडीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप तयार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विश्वकप र एसिया कपजस्ता प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन सुधार गर्न नियमित अभ्यास, खेल कौशल विकास र प्रतिस्पर्धात्मक तयारी महत्त्वपूर्ण हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?