काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दैछ । टेनिसको महिला डबल्स र पुरुष सिङ्गल्स तथा एथलेटिक्सको महिला पाँच हजार मिटरमा नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले महिला डबल्सको पहिलो चरणमा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका छन् ।
पुरुष सिङ्गल्सको दोस्रो चरणमा नेपालका अभिषेक बास्तोलाले काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नेछन् । अभिषेकले प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सको पहिलो चरण पार गर्दै प्रतियोगितामा राम्रो सुरुआत गरिसकेका छन् । उनीहरूले मङ्गोलियाली जोडीलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका थिए ।
एथलेटिक्सतर्फ महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीका लागि ट्र्याकमा आफूलाई प्रमाणित गर्ने अर्को अवसरका रूपमा आजको प्रतिस्पर्धालाई हेरिएको छ ।
जापानको आइची र नागोया क्षेत्रमा जारी एसियाली खेलकुदमा नेपालबाट विभिन्न २१ खेलमा १३५ खेलाडी सहभागी छन् । प्रतियोगिता अक्टोबर ४ सम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?