काठमाडौं । राक्सिराङ गाउँपालिका–३ पलाँसेमा रहेको सीता अशोक बाटिका धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ । अशोकका रुखको छहारीमा राखिएका सीता र त्रिजटाका मूर्तिले यहाँ पुग्ने आगन्तुकलाई रामायणकालको झल्को दिने गर्छ ।
डिभिजन वन कार्यालय राप्ती–मनहरी, भर्याङ कालिका सामुदायिक वन र गाउँपालिकाको समन्वयमा निर्माण भएका मूर्तिको वि.सं २०८० असार १८ गते प्राणप्रतिष्ठा गरिएको थियो । जानकी मन्दिर जनकपुरधामबाट ल्याइएको प्रसाद तथा दूधमती नदीको जलसमेत प्रयोग गरिएकाले स्थलको धार्मिक महत्व बढेको स्थानीयको भनाइ छ ।
रामायणका कथामा लङ्कामा सीताको रेखदेख गरेकी त्रिजटाले उनलाई निराश हुन नदिई राम आउने सकारात्मक सन्देश दिने गरेको उल्लेख छ । यही भूमिकालाई स्मरण गर्दै सीतासँगै त्रिजटाको मूर्ति स्थापना गरिएको हो ।
स्थानीय तहले सीता अशोक बाटिकालाई जलपरी झरना, चमेरे गुफा र भर्याङ कालिका मन्दिरसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । भविष्यमा यहाँ रावणको दरबार तथा पचभैयामा हनुमानको विशाल मूर्तिसहित रामको दरबार बनाउने योजना पनि अघि सारिएको छ ।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्वलाई एकै ठाउँमा जोडेर पलाँसेलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?