कुसुन्ती हाइटमा लिफ्टसहितको आकाशे पुल संचालनको तयारी, भ्रम फैलाउन खोजिएको भन्दै प्रमुख महर्जन असन्तुष्ट
काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथअन्तर्गत कुसुन्ती हाइटमा निर्माण गरिरहेको लिफ्टसहितको आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ । व्यस्त सडकमा पैदलयात्रीलाई सुरक्षित रूपमा वारपार गराउने उद्देश्यले निर्माण भइरहेको यो पुल संचालनमा आएपछि विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र बालबालिकालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
ललितपुर महानगरपालिका–१३ मा निर्माणाधीन पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । सिँढी चढ्न कठिनाइ हुने वा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिले समेत सहज रूपमा सडक पार गर्न सकून् भन्ने उद्देश्यले यस्तो संरचना तयार पारिएको हो । चक्रपथमा सवारीसाधनको चाप बढी हुने र सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने भएकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न पुल निर्माण गरिएको महानगरपालिकाले जनाएको छ ।
करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काम २०८० फागुनमा सुरु गरिएको थियो । सम्झौताअनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक जटिलता र निर्माण सामग्री आपूर्तिमा भएको ढिलाइका कारण आयोजना निर्धारित समयमा पूरा हुन सकेन । पछिल्लो समय निर्माणलाई तीव्रता दिइएको र छठ पर्वअघि वा त्यसलगत्तै संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।
पछिल्लो समय पुलको विषयलाई लिएर सामाजिक संजालमा भ्रम फैलाउन खोजिएको भन्दै ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जन असन्तुष्ट भएका छन् । प्रमुख महर्जनले पुल संचालनमा आएसँगै सडक पार गर्न पैदलयात्रीले भोग्दै आएको कठिनाइ कम हुनेमा आफु ढुक्क रहेको बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?