काठमाडौं । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगिएको छ ।
दाबी–विरोध र आवश्यक छानबिनपछि ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासीका रूपमा कायम भएका छन् । भूमिहीनमध्ये १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी छन् ।
महानगर प्रमुख धनराज आचार्यले अब कार्यपालिकाबाट निर्णय गरी विवरण जिल्ला समितिमा सिफारिस गरिने बताउनु भयो । उहाँले वास्तविक भूमिहीन परिवारको कानुनबमोजिम व्यवस्थापन गर्दै बसपार्क क्षेत्रको बस्ती स्थानान्तरण प्रक्रिया अघि बढाउने तयारी महानगरले गरेको जानकारी दिनुभयो ।
महानगरले प्रक्रिया समयमै पूरा भए अर्को सातादेखि स्थानान्तरणको काम सुरु गर्ने जनाएको छ । वि.सं. २०३२ मा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि अतिक्रमणलगायतका कारण पाँच दशकसम्म योजना कार्यान्वयन हुन सकेको छैन ।
सुकुमबासी सरोकार समितिले भने वैकल्पिक व्यवस्थापन सुनिश्चित भए बसपार्क निर्माणमा सहयोग गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?