काठमाडौं । पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३ सय २५ जनाले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब तीन सय जनाले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चान्द्रमासअनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन अहिले पनि लाममा बसेका छन् । बोल बम यात्री बिहान २ः०० बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान ४ः०० बजेदेखि मात्र खोलिएको थियो ।
सौरमास अनुसारका चार सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ः०० बजे मात्र ढोका खोलिएको कोषले जनाएको छ ।
चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?