काठमाडौं । प्रहरीले ३ सय ६७ केजी अवैध लागुपदार्थ–गाँजासहित उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
उदयपुरको कटारी नगरपालिका–४ मरूवा खोलाबाट १९९ किलो गाँजासहित सोही वडाको कान्छी बजार बस्ने २१ वर्षीय सोम मगरलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट १ सय ६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका–७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा प्र ०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?