काठमाडौं । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि एक करोड ४० लाख बजेट विनियोजन भएकामा एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन् ।
योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको बताइएको छ । मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ । मालिका–४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका–९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोेमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ । मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ ।
रघुगंगा गाउँपालिका–३ गलेश्वर देखि बगैचा, ५ र ६ को फुलडाँडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि एक करोड ८५ लाख बजेट प्राप्त भएको छ । बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?