आयरल्यान्डी ह्विस्कीमा लगाइएको १० प्रतिशत कर हटाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने आयरल्यान्डी ह्विस्कीमा लगाइएको १० प्रतिशत कर हटाउने घोषणा गरेका छन् ।
आइतबार आयरल्यान्डमा आयोजित ‘आयरिस ओपन’ गल्फ प्रतियोगिताको समापन समारोहमा विजेतालाई पुरस्कार प्रदान गर्दै ट्रम्पले कर हटाउने घोषणा गरेका हुन् । प्रतियोगिता आयरल्यान्डको डुन्बेगस्थित ट्रम्प इन्टरनेसनल गल्फ कोर्समा आयोजना गरिएको थियो ।
ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन, गल्फ खेलाडी शेन लोरीसहित विभिन्न व्यक्तिले आयरल्यान्डी ह्विस्कीमा लगाइएको कर हटाउन आग्रह गर्दै आएकोले आफूले कर हटाउने निर्णय गरेको ट्रम्पले बताएका थिए ।
आयरल्यान्डी ह्विस्की हाल युरोपेली संघबाट अमेरिकामा निर्यात हुने मदिराजन्य वस्तुमा लागू गरिएको १० प्रतिशत करको दायरामा थियो । ट्रम्पको घोषणापछि आयरल्यान्डी ह्विस्की उत्पादकले यसलाई स्वागत गरेका छन् ।
कर हटाउने निर्णय कार्यान्वयन भएपछि अमेरिकी बजारमा आयरल्यान्डी ह्विस्कीको व्यापारमा सहजता आउने अपेक्षा गरिएको छ । यसले अमेरिका र आयरल्यान्डबीचको व्यापारिक सम्बन्धलाई समेत सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।
आयरल्यान्डी ह्विस्की उद्योगले भने अमेरिकी तथा युरोपेली अधिकारीसँग सहकार्य गर्दै मदिराजन्य सबै उत्पादनमा शून्य करको व्यवस्था पुनः कायम गर्न पहल जारी राख्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?