काठमाडौं । यमनमा इरानको समर्थन पाएका हुथी विद्रोहीले लाल सागरका थप दुई महत्वपूर्ण टापु आफ्नो नियन्त्रणमा लिएका छन् । हुथीले ग्रेटर हानिश र लेसर हानिश टापुमा नियन्त्रण कायम गरेसँगै बाब अल–मान्देब जलसन्धि आसपास उनीहरूको सामरिक प्रभाव थप बढेको छ ।
सरकारी तथा हुथी पक्षका अधिकारीहरूले सरकारी गठबन्धनका सैनिक पछि हटेपछि हुथी लडाकु हानिश द्वीपसमूहतर्फ अघि बढेको जनाएको छ । यी टापु बाब अल–मान्देब जलसन्धिबाट करिब १६० किलोमिटर उत्तरमा रहेका छन् ।
यसअघि हुथीले लाल सागर किनारको महत्वपूर्ण मोखा बन्दरगाह र जलसन्धिमा रहेको मायुन टापुमा पनि नियन्त्रण जमाइसकेका छन् । पछिल्लो विस्तारले यमनको पश्चिमी तट तथा बाब अल–मान्देब आसपासको समुद्री क्षेत्रमा उनीहरूको प्रभाव अझ बलियो बनाएको छ ।
बाब अल–मान्देब लाल सागरलाई एडेनको खाडी हुँदै हिन्द महासागरसँग जोड्ने विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । एसिया र युरोपबीच हुने व्यापार तथा तेल ढुवानीका लागि यो जलसन्धि विशेष महत्वको मानिन्छ । त्यस क्षेत्रमा हुथीको प्रभाव बढ्दा अन्तर्राष्ट्रिय जहाज आवागमन र ऊर्जा आपूर्तिमा थप जोखिम उत्पन्न हुन सक्ने चिन्ता बढेको छ ।
हुथीको पछिल्लो अग्रगमनले साउदी अरबको तेल ढुवानीमा समेत दबाब बढाउने सम्भावना देखिएको छ । क्षेत्रीय तनाव बढ्दै गएमा विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यसैबीच साउदी अरबको समर्थन पाएको यमनी सरकारी पक्षले हुथीको बढ्दो प्रभाव रोक्न सैन्य गतिविधि तीव्र पार्ने प्रयास गरिरहेको छ । लामो समयको तुलनात्मक शान्तिपछि यमनमा पुनः तीव्र सैन्य गतिविधि बढ्दा देश फेरि व्यापक गृहयुद्धतर्फ जाने जोखिमसमेत बढेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?