वर्ष प्रशिक्षकको पुरस्कार बाढीपीडितलाई दिने दीपक महर्जनको घोषणा
काठमाडौं । नेपाली बक्सिङ प्रशिक्षक दीपक महर्जनले यस वर्षको पल्सर स्पोट्र्स अवार्डमा ‘वर्ष प्रशिक्षक’को पुरस्कार जिते त्यसबाट प्राप्त हुने सम्पूर्ण रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
हाल भारतको गुवाहाटीस्थित स्पोट्र्स अथोरिटी अफ इन्डियामा रहनुभएका महर्जनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफूले व्यक्तिगत रूपमा सक्दो सहयोग गरिरहेको उल्लेख गर्दै आफ्नो तलबबाट समेत विपदमा परेका नागरिकका लागि सहयोग गर्ने बताउनुभएको छ ।
महर्जनले वर्ष प्रशिक्षकको पुरस्कार प्राप्त गरेमा पुरस्कारबापतको रकम राहत कोषमा जम्मा गरिदिन नेपाल खेलकुद पत्रकार मञ्चलाई आग्रह गर्नुभएको छ । देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्बाट नागरिक प्रभावित भइरहेका बेला उहाँले आफ्नो सम्भावित पुरस्कारसमेत पीडितको सहयोगमा समर्पण गर्ने निर्णय गर्नुभएको हो ।
महर्जन यस वर्षको पल्सर स्पोट्र्स अवार्डको वर्ष प्रशिक्षक विधामा मनोनीत हुनुभएको छ । नेपाली बक्सिङले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलतामा उहाँ प्रशिक्षकका रूपमा जोडिँदै आउनुभएको छ ।
उहाँको प्रशिक्षणमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका छन् । दुबईमा भएको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसीपमा चन्द्रबहादुर थापाले कांस्य पदक जित्दा महर्जन नेपाली टोलीका प्रशिक्षक हुनुहुन्थ्यो ।
त्यस्तै भुटानमा आयोजित फोर नेसन्स कप बक्सिङ च्याम्पियनसीपमा नेपालले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्दा पनि उहाँ टोलीको प्रशिक्षक हुनुहुन्थ्यो ।
महर्जनले आफूले गर्न सक्ने सहयोगसँगै अन्य नागरिकलाई पनि आफ्नो क्षमता र सामथ्र्यअनुसार बाढीपीडितको राहतमा योगदान गर्न आग्रह गर्नुभएको छ ।
पल्सर स्पोट्र्स अवार्ड २०८२ को वर्ष प्रशिक्षक विधाको विजेताको घोषणा आगामी भदौ १८ गते हुने अवार्ड समारोहमा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?