काठमाडौं । गाजामा जारी इजरायली हवाई तथा सैन्य कारबाही र वेस्ट बैंकमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । निरन्तरको आक्रमणबाट सर्वसाधारण प्रभावित हुनुका साथै नागरिक संरचना र स्वास्थ्य सेवासमेत जोखिममा परेको राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।
ओसीएचएका अनुसार पछिल्ला आक्रमणमा एक बालकको मृत्यु भएको तथा देर अल–बालाहस्थित अल–अक्सा अस्पताल परिसरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । राष्ट्रसंघले सर्वसाधारण र अस्पतालजस्ता नागरिक संरचनाको सुरक्षा सुनिश्चित गर्न तथा तिनलाई सैन्य गतिविधिबाट अलग राख्न आग्रह गरेको छ ।
यसैबीच, आगामी वर्षायाममा गाजामा बाढीको जोखिम बढ्न सक्ने भन्दै मानवीय सहायता संस्थाहरूले पूर्वतयारी थालेका छन् । जोखिमयुक्त क्षेत्र पहिचान गरी नाला सफा गर्ने, भग्नावशेष हटाउने, पानी तान्ने पम्प तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्ने काम अघि बढाइएको छ ।
तर राहत सामग्री प्रवेशमा लगाइएको सीमितता, पर्याप्त बजेटको अभाव तथा इन्धन, स्पेयर पाट्र्स र भारी उपकरणको कमीले पूर्वतयारी प्रभावित भएको ओसीएचएले जनाएको छ । गाजाको ठूलो भू–भाग अझै मानवीय संस्थाको पहुँचबाहिर रहेकाले विस्थापितका लागि आश्रय व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ ।
यता, वेस्ट बैंकमा चोरी, आगजनी, तोडफोड तथा झडपका घटना जारी रहेको जनाइएको छ । रामल्लाहको अल–मुघय्यिर क्षेत्रमा भएको आक्रमणमा करिब एक दर्जन प्यालेस्टिनी घाइते भएका छन् भने हिंसाका कारण मानिस तथा सवारीसाधनको आवतजावत र एम्बुलेन्स सेवासमेत प्रभावित भएको ओसीएचएले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?