चिपको माग बढेपछि दक्षिण कोरियाको निर्यातमा ६८.७ प्रतिशतको उछाल
काठमाडौं । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टर अर्थात् चिपको माग तीव्र रूपमा बढेपछि मुलुकको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.७ प्रतिशतले बढेको हो ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालयले अगस्टमा मुलुकले ९८.२५ अर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ । यो दक्षिण कोरियाको इतिहासमा अहिलेसम्मकै तेस्रो ठूलो मासिक निर्यात हो । लगातार तेस्रो महिनासम्म मुलुकको मासिक निर्यात ९० अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
निर्यातको दैनिक औसतमा पनि उल्लेख्य सुधार आएको छ । अगस्टमा दैनिक औसत निर्यात ७२.५ प्रतिशतले बढेर ४.४७ अर्ब अमेरिकी डलर पुगेको मन्त्रालयले जनाएको छ । यससँगै दैनिक औसत निर्यात लगातार चौथो महिनासम्म ४ अर्ब डलरभन्दा माथि कायम भएको छ ।
निर्यातसँगै आयात पनि बढेको छ । अगस्टमा दक्षिण कोरियाले ६३.५१ अर्ब अमेरिकी डलर बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको अगस्टको तुलनामा २२.५ प्रतिशत बढी हो । निर्यातको तुलनामा आयातको वृद्धि कम रहेकाले मुलुकको व्यापार बचत ३४.७५ अर्ब अमेरिकी डलर पुगेको छ । यो लगातार तेस्रो महिना हो, जब दक्षिण कोरियाको व्यापार बचत ३० अर्ब डलरभन्दा माथि पुगेको छ ।
दक्षिण कोरियाका प्रमुख २० निर्यात वस्तुमध्ये १४ वटा वस्तुको निर्यात अगस्टमा बढेको छ । तीमध्ये सेमिकन्डक्टरको प्रदर्शन सबैभन्दा बलियो देखिएको छ । चिपको निर्यात एक वर्षअघिको तुलनामा २०९ प्रतिशतले बढेर ४६.६५ अर्ब अमेरिकी डलर पुगेको छ । यो दक्षिण कोरियाको सेमिकन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च मासिक स्तर हो ।
सेमिकन्डक्टरको निर्यात लगातार तीन महिनादेखि ४० अर्ब अमेरिकी डलरभन्दा माथि रहँदै आएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा विश्वका ठूला प्रविधि कम्पनीले लगानी बढाइरहेका कारण मेमोरी चिपको माग र मूल्य दुवैमा वृद्धि भएको मन्त्रालयले जनाएको छ । गुगल र अमेजनजस्ता ठूला प्रविधि कम्पनीले एआई पूर्वाधार विस्तार गरिरहेका कारण त्यसको प्रत्यक्ष लाभ दक्षिण कोरियाको चिप उद्योगले पाएको हो ।
बजारगत रूपमा हेर्दा अमेरिकातर्फको दक्षिण कोरियाली निर्यात पनि उल्लेख्य बढेको छ । अगस्टमा अमेरिकातर्फको निर्यात ८९.३ प्रतिशतले बढेर १६.५० अर्ब अमेरिकी डलर पुगेको छ । चिप, स्टिल, कम्प्युटर तथा पेट्रोलियम पदार्थको मागमा आएको वृद्धिले अमेरिकातर्फको निर्यात बढाउन मुख्य भूमिका खेलेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सदस्य मुलुकतर्फ दक्षिण कोरियाको निर्यात ७५.४ प्रतिशतले बढेर १९.०९ अर्ब अमेरिकी डलर पुगेको छ । युरोपेली संघतर्फको निर्यात भने १४.६ प्रतिशतले बढेर ६.६२ अर्ब अमेरिकी डलर पुगेको छ ।
आयाततर्फ पनि दक्षिण कोरियाको ऊर्जा आवश्यकतामा वृद्धि देखिएको छ। कच्चा तेल, प्राकृतिक ग्यास र कोइलाजस्ता तीन प्रमुख ऊर्जा स्रोतको आयात अगस्टमा १५.३ प्रतिशतले बढेर १२.६८ अर्ब अमेरिकी डलर पुगेको छ ।
सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक उपकरणको माग बढेका कारण गैरऊर्जा वस्तुको आयातसमेत उल्लेख्य रूपमा बढेको छ । मन्त्रालयले गैरऊर्जा वस्तुको आयात २४.४ प्रतिशतले बढेर ५०.८३ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ ।
दक्षिण कोरियाको पछिल्लो व्यापार तथ्यांकले विश्व अर्थतन्त्रमा एआई प्रविधिको विस्तारसँगै चिप तथा सेमिकन्डक्टरको मागमा आएको तीव्र वृद्धिले देशको निर्यातलाई बलियो टेवा दिएको देखाएको छ । विशेषगरी मेमोरी चिपको उच्च मागले दक्षिण कोरियाको समग्र निर्यात र व्यापार बचतमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?