काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनःस्थापनाका लागि भारत, चीनसहित अन्तर्राष्ट्रिय समुदायले सहयोग तीव्र बनाएका छन् ।
भारतले राहत सामग्रीसँगै सुरुङ उद्धारका लागि १३ सदस्यीय प्राविधिक टोली र मृतकको पहिचानमा सहयोग गर्न १९ सदस्यीय फरेन्सिक टोली नेपाल पठाएको छ । भारतबाट हालसम्म करिब ५७.५ टन राहत सामग्री नेपाल भित्रिएको छ ।
यस्तै, चीनले दुई सैन्य विमानमार्फत करिब ५० टन राहत सामग्री तथा चार जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको छ । पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य तथा प्राथमिक उपचार सामग्री प्रभावित क्षेत्रमा पठाइँदैछ । भारतीय र चिनियाँ विशेषज्ञ नेपाली सेनासँगको समन्वयमा उद्धारमा खटिएका छन् ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको छ । विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ। उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन् ।
यसैगरी, पुनःस्थापनाका लागि एडीबी, विश्व बैंक, अमेरिका र अष्ट्रेलियालगायतबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ । हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासीका विभिन्न क्षेत्रमा ६७५ शव फेला परेका छन् । शवको पहिचान र व्यवस्थापनका लागि सरकारले निर्धारित कार्यविधिअनुसार प्रक्रिया अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?