प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा करिब २ अर्ब रुपैयाँ संकलन
काठमाडौं । भोटेकोशी बाढीपछि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छोटो समयमै ठूलो रकम जुटेको छ । ३६ घण्टाको अवधिमा मात्रै कोषमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग थपिएको हो ।
अर्थ मन्त्रालयले यससँगै कोषमा जम्मा रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख रुपैयाँभन्दा बढी मौज्दात थियो ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेसँगै उद्धार तथा राहतका लागि व्यक्ति, निजी क्षेत्र र विभिन्न संस्थाबाट सहयोग जुट्न थालेको हो ।
सरकारले राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई रकम उपलब्ध गराउन आग्रह गरेको छ । बिहीबार मात्रै निजी क्षेत्रबाट २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?