काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले उद्धार गरिएकामध्ये भारतका ८५ र चीनका १६ जना रहेको जनाएको छ ।
त्यस्तै दक्षिण कोरियाका ९, अमेरिका र इटलीका २–२ तथा पहिचान खुल्न नसकेका ३ जना पर्यटकको पनि उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा अझै केही पर्यटक सम्पर्कविहीन रहेकाले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षा निकायको समन्वयमा खोजी र उद्धार जारी छ । ट्रेकिङ कम्पनी र गाइडहरू पनि उद्धार कार्यमा जुटेका छन् ।
बोर्डले हराइरहेका पर्यटकको विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको जनाएको छ । पर्यटन बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाईन नम्बर ११४४ वा पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?