काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ७८ जनाको अवस्था अज्ञात बनेको छ । बाढी आएको तीन दिन बितिसक्दा पनि परिवारजनले उनीहरूसँग सम्पर्क गर्न सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले पातारासी, गुठीचौर, चन्दननाथ, सिंजा र हिमा क्षेत्रका बासिन्दा सम्पर्कविहीनको सूचीमा राखेको छ । आफन्तको निवेदनपछि प्रशासनले विवरण संकलन गरी खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
बाढीबाट जोगिएका पातारासी–४ का सिंह बुढाले त्रिशूली–३ जलविद्युत् आयोजनाको ड्यामसाइडमा जुम्लाका करिब एक सय जना काम गरिरहेका थिए । बाढी आएपछि आफू केही साथीसहित भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
बाढीबाट बाँचेकाहरू धुन्चेमा खान, बस्न र घर फर्किन समस्या झेलिरहेका छन् । बुढाले सम्पर्कविहीनको तत्काल खोजी गर्न र आफूहरूलाई सुरक्षित रूपमा जुम्ला फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?