काठमाडौं । चीन–नेपाल सीमा नजिक बाढीको जोखिम बढेपछि तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकिएको छ । पहिरोपछि बनेको ठूलो तालको पानी उद्धार टोली परिचालन भएको क्षेत्रतर्फ बढेपछि सुरक्षाका लागि टोलीलाई पछाडि हटाइएको हो ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धार क्षेत्रमा रहेका टोलीलाई करिब एक किलोमिटर सुरक्षित दूरीमा सारिएको छ । लगातार वर्षा भइरहेकाले तालको पानी अझ बढ्न सक्ने र प्राकृतिक बाँध फुटे तल्लो क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम छ ।
यसअघि विपद् प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बेपत्ताको खोजीमा ड्रोन, तापीय प्रविधि र अन्य आधुनिक उपकरण प्रयोग भइरहेका छन् ।
तालको अवस्था प्राविधिक टोलीले निरन्तर निगरानी गरिरहेको छ । जोखिम घटेपछि खोज तथा उद्धार कार्य पुनः सुरु गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?