सुदूरपश्चिम प्रदेश सरकारद्वारा २४सैं घण्टा आकस्मिक सहायता कक्ष सञ्चालन
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक सहायता कक्ष संचालनमा ल्याएको छ । सहायता कक्ष चौबिसै घण्टा संचालन हुने प्रदेश सरकारले जनाएको छ ।
बाढीपीडितले प्रदेश आपत्कालीन कार्य संचालन केन्द्रको ०९१–५२१३२४ वा ९७६२४७९३२८ मा सम्पर्क गर्न सक्नेछन् । उद्धार तथा आपतकालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, हेलो सरकार ११११ लगायतका नम्बरमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी गरेको छ । सम्भावित संक्रमण तथा स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरिने जनाएको छ ।
यसैबीच, प्रदेश मन्त्रिपरिषद्ले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै प्रदेश सरकारका मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
मनसुनका कारण प्रदेशका अन्य क्षेत्रमा समेत विपद्को जोखिम रहेकाले सबै जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?