त्रिशूली र नारायणी किनारमा १७८ शव भेटियो, तस्बिर नेपाल प्रहरीको पोर्टलमा राखिदै
काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर आएका १७८ शव चितवन क्षेत्रमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक र २ बालिका रहेका छन् ।
नदी किनारमा खोजी गर्ने क्रममा ५५ जनाको शरीरका विभिन्न अंगसमेत फेला परेका छन् । तीमध्ये २२ वटा शव संरक्षण तथा पहिचान केन्द्रमा राखिएको छ भने अन्य अंग भरतपुर अस्पतालमा राखिएको छ ।
भेटिएका शवलाई सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखिएको छ भने आफन्तले तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । शवका तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राख्ने तयारी गरिएको छ ।
भरतपुर अस्पतालमा शव राख्ने ठाउँ पर्याप्त नभएपछि भरतपुर–१० स्थित पुरानो औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ ।
पहिचानका लागि आउने आफन्तको परिचयपत्रलगायत आवश्यक कागजातबाट आधिकारिकता यकिन गरिनेछ । पहिचानपछि शव भरतपुर अस्पतालमा ल्याएर आवश्यक परीक्षण गरी कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।
यसैबीच, त्रिशूली र नारायणी नदी किनारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त खोजी अभियान जारी छ । स्थानीय तथा बेपत्ता परिवारबाट नदी किनारमा शव भेटिएको सूचना आउने क्रमसमेत जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?