काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । सडक बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले पृथ्वीराजमार्ग, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, भेरी करिडोर, पासाङल्हामु र शहीद मार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको जनाएको छ ।
धादिङका ज्याङखोला, बिहानी पम्प, गलौदी, जहरेखेत, बाङ्गेमोड र बैरेनी क्षेत्रमा लेदो तथा पहिरो पन्छाउने काम भइरहेको छ । पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा भने एकतर्फी यातायात संचालनमा आएको छ ।
मलेखु–गलौदी खण्डमा थुप्रिएको करिब ७ सय मिटर लेदो हटाउने काम जारी रहेको सडक विभागले जनाएको छ । सडक खुलाउन डोजर तथा एक्साभेटरसहितका उपकरण परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?