भोटेकोशी बाढीपीडितको उद्धारमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोटेकोशी नदी आसपासका बाढी तथा पहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
रसुवालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि र अस्थायी आवाससहितका अत्यावश्यक सामग्री तत्काल पुर्याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।
बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था र आमनागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको भण्डारीले बताउनुभएको छ ।
उहाँले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुन आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?