विपदमा सरकार र दल एकढिक्का भएर लाग्न आग्रह : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दल एकढिक्का भएर राहत तथा उद्धारमा परिचालित हुन आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गर्नुभयो । उहाँले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग निरन्तर सूचना आदानप्रदान र विपद् व्यवस्थापनका रणनीतिबारे आफूले छलफल गरिरहेको जानकारी दिनुभयो । सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य नागरिकको जीवन रक्षामा लगाउने विश्वास व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा, जनशक्ति तथा सम्भव भएसम्म सबै स्रोतसाधन परिचालन गर्न आग्रह गर्नुभयो ।
चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । साथै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा तथा बालबालिकालाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्नेमा सभापति लामिछानेले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?