बोदेमा नीलबाराही नाच प्रदर्शन, मल्लकालीन परम्परालाई निरन्तरता
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोदेमा सोमबार राति परम्परागत नीलबाराही नाच प्रदर्शन गरिएको छ । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने यो नाच बोदेको सांस्कृतिक पहिचानका रूपमा प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
स्थानीय परम्पराअनुसार गाईजात्राको भोलिपल्टदेखि लगातार चार रातसम्म बोदेको विभिन्न टोलमा नीलबाराही नाच नचाइन्छ । रातको समयमा देवगणसहित प्रस्तुत गरिने यो नाच हेर्न स्थानीयवासी तथा भक्तजनको सहभागिता रहने गरेको छ ।
मल्लकालदेखि संचालन हुँदै आएको मानिने नीलबाराही नाचमा विभिन्न देवगणको विशेष भूमिका हुन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह र सिंहिनी चार, द्वारपाल दुई तथा गणेश चार गरी जम्मा १९ देवगण सहभागी हुन्छन् । देवगणले परम्परागत विधिअनुसार नाच प्रस्तुत गर्दा विभिन्न प्रकारका बाजा बजाइने गरिन्छ ।
नीलबाराही नाच केवल मनोरञ्जनका लागि प्रस्तुत गरिने नाच नभई मध्यपुर थिमिको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण जात्रा हो । पुस्तौँदेखि चल्दै आएको यो परम्परा स्थानीय समुदायको सहभागितामा हरेक वर्ष निरन्तरता पाउँदै आएको छ ।
परम्परागत पोसाकमा सजिएका देवगण, बाजागाजा र विधिपूर्वक प्रस्तुत गरिने नाचले स्थानीय कला, संस्कृति र धार्मिक विश्वासलाई एकै ठाउँमा जोड्ने गरेको छ ।
मल्लकालीन समयदेखि चलिआएको नीलबाराही नाचलाई स्थानीय बासिन्दाले आफ्नो मौलिक सम्पदा र सांस्कृतिक पहिचानका रूपमा संरक्षण गर्दै आएका छन् । नयाँ पुस्तालाई समेत यस परम्परासँग जोड्दै यसको निरन्तरता कायम राख्ने प्रयास हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?