तातोपानी कुण्डमा स्नान गर्नेको भीड, प्राकृतिक उपचारको आशामा म्याग्दी पुग्दै सर्वसाधारण
काठमाडौं । बेनी नगरपालिका–४ स्थित प्राकृतिक सिंगा–तातोपानी कुण्डमा स्नान गर्न आउने सर्वसाधारणको भीड लागेको छ । म्याग्दी नदीको किनारमा अवस्थित यस कुण्डमा प्राकृतिक रूपमा निस्कने तातोपानीमा डुबुल्की लगाउन विभिन्न ठाउँबाट मानिस पुग्ने गरेका छन् ।
प्राकृतिक रूपमा निस्कने तातोपानी संकलन गरेर बनाइएको पोखरीमा स्नान गर्न विशेषगरी चोटपटक लागेका, ढाड दुख्ने तथा चिसोले स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिहरू आउने गरेका छन् । ग्यास्ट्रिकलगायतका समस्याबाट राहत पाउने आशामा पनि कतिपय मानिस यहाँ पुग्ने गरेका छन् ।
कुण्डमा करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने र पानीमा बिरेनुनजस्तो गन्ध महसुस हुने स्थानीय बताउँछन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा शरीरलाई आराम मिल्ने विश्वासले यस क्षेत्रले धार्मिक, पर्यटकीय तथा स्वास्थ्यसम्बन्धी आकर्षणसमेत बढ्दै गएको छ ।
म्याग्दी नदीको किनारमा रहेको सिंगा–तातोपानी कुण्ड जिल्लाको चिनारी बनेको प्राकृतिक सम्पदामध्ये एक हो । यहाँ आउने आगन्तुकका लागि तातोपानीमा स्नान गर्नुका साथै प्राकृतिक वातावरणमा समय बिताउने अवसरसमेत उपलब्ध हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?