काठमाडौं । कालीगण्डकी र राहुघाट नदीको संगममा अवस्थित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिएको क्षेत्र हो । प्रसिद्ध गलेश्वर शिवालय मन्दिर रहेको यो क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा परिचित छ ।
कालीगण्डकीको किनारमा फैलिएको विशाल चट्टानमाथि रहेको गलेश्वर शिवालय यहाँको प्रमुख धार्मिक आकर्षण हो । करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित मन्दिरसँग धार्मिक तथा पौराणिक मान्यताहरू जोडिएका छन् । गलेश्वरधाममा जलकुण्ड, शिवलिङ्ग, हवनकुण्डलगायत धार्मिक संरचना र स्थलहरू रहेका छन् ।
गलेश्वरको धार्मिक महत्त्वसँगै यसको प्राकृतिक बनावटले पनि आगन्तुकलाई आकर्षित गर्ने गर्छ । एकातिर कालीगण्डकी र अर्कोतिर राहुघाट नदीको बहाव, वरपरका पहाडी भू–दृश्य तथा चट्टानी संरचनाले यस क्षेत्रलाई प्रकृति र आस्थाको सुन्दर संगम बनाएको छ । यही कारण गलेश्वर पछिल्लो समय धार्मिक तीर्थस्थलसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ ।
गलेश्वरमा विभिन्न पर्व तथा धार्मिक अवसरमा भक्तजनको उल्लेख्य चहलपहल हुने गरेको छ । विशेषगरी साउनका सोमबार, शिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् । गत माघदेखि जेठ आधासम्म करिब एक लाख धार्मिक पर्यटकले गलेश्वरधामको दर्शन गरेका थिए ।
गलेश्वरलाई मुक्तिनाथ जाने यात्राको महत्वपूर्ण विश्राम तथा प्रवेशस्थलका रूपमा लिइन्छ । बेनी–जोमसोम सडकसँग जोडिएको गलेश्वर हुँदै मुस्ताङ र प्रसिद्ध मुक्तिनाथतर्फ जाने तीर्थयात्री तथा पर्यटकको आवागमन हुने गर्छ । यही सम्भावनालाई ध्यानमा राखेर स्थानीय तह र गलेश्वर क्षेत्र विकास कोषले मन्दिर परिसरदेखि राहुघाट नदी किनारसम्म पदमार्ग तथा सौन्दर्यीकरणका कामसमेत अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?