काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीको जलसतह बढ्न सक्छ । आसपासका साना नदी तथा खोलामा समेत बहाव बढ्ने सम्भावना रहेकाले आकस्मिक बाढी आउन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका ताप्लेजुङदेखि मुस्ताङसम्मका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिमका रुकुमपूर्वदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?