जेनजी उमेर समूहका सांसदलाई प्रधानमन्त्री शाहको आग्रह, ‘नवीन सोचका साथ काम गर्नुस्’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो ।
यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो ।
साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गर्नुभयो । अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँहरूले जेनजी आन्दोलनका सहिद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।
अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शंक। यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?