बालबालिकालाई इन्द्रजात्राको संस्कृति चिनाउँदै त्रैविद्य शिक्षा सदन
काठमाडौं । आउँदै गरेको इन्द्रजात्रालाई लक्षित गर्दै चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित त्रैविद्य शिक्षा सदनले विद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा विद्यार्थीले लाखेनाच प्रस्तुत गर्नुका साथै डम्फु, पियानोलगायत बाजा बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । परम्परागत संस्कृति र आधुनिक सिर्जनात्मक अभ्यासलाई एउटै मञ्चमा जोडिएको कार्यक्रमले बालबालिकामा उत्साह र जिज्ञासा बढाएको थियो ।
विद्यालयकी भाइस प्रिन्सिपल सुर्जना ढकालले बालबालिका काँचो माटोजस्तै भएकाले उनीहरूलाई सानै उमेरदेखि आफ्नो संस्कृति, परम्परा र मौलिकताबारे सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्द्रजात्राको महत्त्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विद्यालयमा इन्द्रजात्रा विशेष कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीले इन्द्रजात्रासम्बन्धी जानकारी ध्यानपूर्वक सुन्नुका साथै सांस्कृतिक प्रस्तुतिमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । पढाइसँगै आफ्नै समाजको संस्कृति र परम्परालाई बुझ्ने अवसर पाउँदा विद्यार्थी कार्यक्रमभर उत्साहित देखिन्थे ।

विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले बालबालिकालाई पुस्तकमा पढेको संस्कृतिलाई व्यवहारमै बुझ्ने अवसर दिएको छ । विशेषगरी लाखेनाच, बाजागाजा र इन्द्रजात्रासम्बन्धी जानकारीमार्फत नयाँ पुस्तालाई स्थानीय मौलिकतासँग जोड्ने प्रयास विद्यालयले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?