परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ ? यी कुरा हेर्न नछुटाउनुस्
काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ परिवारसँग घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने गाडी र मोटरसाइकलसँगै ‘मेड इन नेपाल-मेड फर नेपाल’ पेभिलियन पनि अवश्य पुग्नुहोस् ।
नाडाले पहिलोपटक छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । यहाँ नेपाली उद्योगले उत्पादन गरेका विद्युतीय स्कुटर तथा मोटरसाइकल, नेपालमा एसेम्बल भएका कार, ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर र विभिन्न अटो पाट्र्सबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ । पेभिलियनमा ८ वटा स्टल छन् ।
यात्रीका विद्युतीय सवारी, नेपालमा एसेम्बल भएका मेटा ईभी, हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले नेपालमै अटोमोबाइल उद्योग विस्तारको सम्भावना देखाएका छन् । गाडी उत्पादनका सबै सामग्री स्वदेशमै बन्ने अवस्था नभए पनि ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट र विभिन्न कम्पोनेन्ट उत्पादनमा नेपाली उद्योगको उपस्थिति बढ्दो छ ।
परिवारसँग अटो शो पुग्दा बालबालिकालाई नेपाली प्रविधि, विद्युतीय सवारी र स्वदेशी उद्योगबारे जानकारी गराउने अवसर पनि मिल्छ । यसपटक ह्युमानोइड र क्वाड्रपेड रोबोट समेत प्रदर्शनीका आकर्षण बनेका छन् ।
अटो शोमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपांग्रे गरी ५३ सवारी ब्रान्ड सहभागी छन् । बैंक, बीमा, अटो पाट्र्स, टायर, लुब्रिकेन्ट र ग्यारेज उपकरणसहित २०० भन्दा बढी स्टल राखिएका छन् ।
तत्काल सवारी खरिद गर्ने योजना नभएकाले पनि विभिन्न ब्रान्डका मूल्य, प्रविधि, रेन्ज, फिचर्स र बिक्रीपछिको सेवा तुलना गर्ने उपयुक्त अवसर अटो शो बनेको छ ।
भदौ १४ गतेसम्म चल्ने अटो शोमा विदेशी ब्रान्डका चम्किला गाडी मात्र होइन, नेपालमै उत्पादन र एसेम्बल हुन थालेका सवारी तथा सामग्रीको कथा पनि हेर्न नछुटाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?