द ब्राइट किण्डर वर्ल्डमा आमाको सम्मान तथा अभिभावक प्रतिभा उत्सव
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१४ स्थित द ब्राइट किण्डर वर्ल्डले आमाको सम्मान तथा अभिभावक प्रतिभा उत्सव भव्य रूपमा मनाएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि इन्दिरा याक्थुम्बाले आमाको सम्मान गर्नु महिलाप्रतिको सम्मान भएको उल्लेख गर्नुहुँदै द ब्राइट किण्डर वर्ल्डले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले उमेरले सानो होस् वा ठूलो हरेक आमाको मायाँ, त्याग र योगदान उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । दुई अक्षरले बनेको ‘आमा’ शब्दको अर्थ असीमित रहेको उल्लेख गर्दै उहाँले आमालाई पृथ्वीसँग तुलना गरिने प्रसङ्गसमेत सुनाउनु भयो ।
आमाको जीवन त्याग, धैर्य र संघर्षले भरिएको हुने बताउँदै याक्थुम्बाले आफ्नो जीवनमा भोगेका कठिन अनुभव पनि कार्यक्रममा साझा गर्नुभयो । उहाँले जीवनमा जस्तोसुकै दुःख र पीडा आइपरे पनि हिम्मत नहारी परिवारका लागि अघि बढिरहनु आमाको विशेषता भएको बताउनु भयो । कुनै पनि आमाले आफूले जस्तो कठिन परिस्थिति भोग्न नपरोस् भन्ने कामना गर्दै उहाँले आमाको भावना, संघर्ष र योगदानलाई बुझेर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ।
ब्राइट फ्यूचर सेकेण्डरी स्कुलअन्तर्गत संचालित द ब्राइट किण्डर वर्ल्डको कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित गरी सम्मान गरेकोमा उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो । ब्राइट फ्यूचर सेकेण्डरी स्कुल चन्द्रागिरिको मात्र नभई काठमाडौंकै उत्कृष्ट विद्यालयमध्ये पर्ने उल्लेख गर्दै उहाँले विद्यालयको प्रगतिमा दयाराम थापा र मोहन कार्कीको सहकार्यलाई उदाहरणीय रहेको बताउनु भयो । याक्थुम्बाले थापा र कार्कीको सक्रियता, कामप्रतिको प्रतिबद्धताले विद्यालयको उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको र शिक्षक, विद्यार्थी र अभिभावकबीचको प्रगाढ सम्बन्धले विद्यालयलाई थप सफल बनाएको दाबी गर्नुभयो ।

कार्यक्रममा ब्राइट फ्यूचर सेकेण्डरी स्कुलका प्रधानाध्यापक दयाराम थापाले अभिभावकको मायाँ, सद्भाव, विश्वास र शिक्षकहरूको मेहनत नै विद्यालयको सफलताको आधार भएको बताउनु भयो । अभिभावकले विद्यालयप्रति देखाएको भरोसा र शिक्षकहरूले निर्वाह गरेको जिम्मेवारीले ब्राइट फ्यूचरले चन्द्रागिरि नगरपालिकामा विशेष पहिचान स्थापित गर्न सकेको उल्लेख गर्नुभयो । थापाले घटस्थापनाको अघिल्लो दिन आमाहरूलाई सम्मान गर्न र शुभकामना आदानप्रदान गर्न पाउँदा खुशी लागेको भन्दै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ आत्मीय बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासमा विद्यालयको प्रयाससँगै अभिभावकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुने उहाँले बताउनु भयो ।
द ब्राइट किण्डर वर्ल्डका प्रधानाध्यापक मोहित कार्कीले विद्यालयको शैक्षिक गुणस्तर र प्रगतिका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीचको आपसी समन्वय, सहकार्य र विश्वास अपरिहार्य रहेको बताउनु भयो । विद्यालयको सफलता कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले शिक्षकको मेहनत, अभिभावकको भरोसा र विद्यार्थीको लगनशीलताले नै शैक्षिक संस्थालाई उन्नतिको मार्गमा अघि बढाउने दाबी गर्नुभयो ।
उहाँले विद्यार्थीको पठन संस्कृतिलाई प्रभावकारी बनाउन पाठ्यक्रम र कक्षाकोठाको शिक्षासँगै विद्यालयको वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । बालबालिकाले सहज, सिर्जनशील र प्रेरणादायी वातावरणमा सिक्ने अवसर पाएमा उनीहरूको अध्ययनप्रतिको रुचि, आत्मविश्वास र व्यावहारिक क्षमता विकास हुने बताउनु भयो ।
कार्कीले साना बालबालिकाको सर्वाङ्गीण विकास र उज्ज्वल भविष्यलाई केन्द्रमा राख्दै विद्यालयले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक सिकाइलाई समेत प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी जीवनोपयोगी सीप, असल व्यवहार, अनुशासन र सिर्जनात्मक सोच विकास गर्नेतर्फ विद्यालयले जोड दिँदै आएको बताउँदै शिक्षक र विद्यालयको निरन्तर मेहनत, अभिभावकको विश्वास तथा विद्यार्थीको सक्रिय सहभागिता र लगनशीलताकै कारण द ब्राइट किण्डर वल्र्डले आफ्नो शैक्षिक पहिचान स्थापित गर्न सफल भएको दाबी गर्नुभयो ।

कार्यक्रमका सभापति तथा द ब्राइट किण्डर वर्ल्डका संस्थापक निर्देशक हिरा थापाले आमाको काख नै बालबालिकाको पहिलो पाठशाला भएको बताउनु भयो । बालबालिकाले जीवनका प्रारम्भिक संस्कार, व्यवहार र मायाँ परिवारबाटै सिक्ने भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा आमाको भूमिका अतुलनीय रहने बताउनु भयो । आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउने विश्वासका साथ अभिभावकले विद्यालयलाई जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै थापाले त्यो विश्वासलाई सदैव कायम राख्न विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी आमाहरूलाई सम्मान गर्न पाउँदा आफूहरू हर्षित भएको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा आमाहरू तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । गीत, नृत्यलगायत प्रस्तुतिले उत्सवलाई थप आकर्षक बनाएको थियो । सो अवसरमा विद्यालयले आमाहरूलाई सम्मानसमेत गरेको थियो ।
द ब्राइट किण्डर वल्र्डले आयोजना गरेको आमाको सम्मान तथा अभिभावक प्रतिभा उत्सवले आमाको मायाँ, त्याग र समर्पणलाई स्मरण गर्दै अभिभावकको प्रतिभालाई उजागर गर्ने अवसरका रूपमा लिइएको छ । आयोजित उत्सवले विद्यालय र परिवारबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?