काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुलाई पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका छन् । बुधबार साँझ दुबईबाट पोखरा आएको विमानका यात्रुलाई पोखरा पर्यटन परिषद्ले खादा, माला तथा उपहार प्रदान गर्दै स्वागत गरेका हुन् ।
करिब चार घण्टा ३० मिनेटको उडानपछि फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पहिलो उडानमा ११३ यात्रु पोखरा आएका थिए । विमानलाई विमानस्थलमा पानीको फोहरासहित स्वागत गरिएको थियो ।
लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराले दैनिक दुबई उडान सुरु गरेपछि पर्यटन व्यवसायीले यसलाई अन्तर्राष्ट्रिय पर्यटक आगमन र हवाई सम्पर्क विस्तारको नयाँ अवसरका रूपमा लिएका छन् ।
फ्लाई दुबईले अब दुबई–पोखरा–दुबई रुटमा दैनिक नियमित उडान संचालन गर्नेछ । फ्लाई दुबई र एमिरेट्सबीचको कोडसेयर सुविधाका कारण यात्रुले एउटै टिकट तथा सहज कनेक्सनमार्फत थप गन्तव्यसम्म यात्रा गर्न सक्नेछन् ।
नियमित उडान सुरु भएसँगै पोखराका पर्यटन व्यवसायीले यात्रु तथा पर्यटक आकर्षित गर्न विभिन्न छुट तथा सुविधा घोषणा गरेका छन् । होटल, रेस्टुराँ, ट्रेकिङ तथा पर्यटन व्यवसायीले फ्लाई दुबईका यात्रुलाई लक्षित गरी आवास, खानपान तथा अन्य सेवामा छुट र प्याकेज उपलब्ध गराउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?