काठमाडौं । लमजुङको राइनास नगरपालिका–९ स्थित ऐतिहासिक राइनासकोट पछिल्लो समय मौलिक गुरुङ संस्कृति, परम्परागत बस्ती र होमस्टेका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ । वि.सं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बस्ती पुनर्निर्माण गरी परम्परागत स्वरूप जोगाउँदै होमस्टे संचालन गरिएपछि राइनासकोटको पर्यटन गतिविधि बढ्दै गएको हो ।
भूकम्पपछि पुनर्निर्माण गरिएका घरमा स्थानीय मौलिकता झल्किने वास्तुकला कायम राखिएको छ । गाउँमा १७ घरमा होमस्टे संचालनमा छन् भने एकैपटक करिब एक सय जना पाहुना बस्न सक्ने क्षमता रहेको राइनासकोट सामुदायिक होमस्टेले जनाएको छ । विशेषगरी शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ ।
राइनासकोट पुग्ने पर्यटकले स्थानीय खानाका परिकारसँगै गुरुङ समुदायको जीवनशैली, कला, संस्कृति र परम्पराको अनुभव गर्न पाउँछन् । गाउँमा मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । स्थानीय स्तरमा प्रचलित घाटु, चुड्कालगायत सांस्कृतिक अभ्यासले राइनासकोटको पर्यटनलाई थप टेवा पुगेको छ ।
प्राकृतिक शौन्दर्य र हिमाली दृश्य राइनासकोटको अर्को आकर्षण हो । यहाँबाट धवलागिरिदेखि गणेश हिमालसम्मका हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हरियाली डाँडाकाँडा, पहाडी बस्ती र खुला आकाशको दृश्यसँगै स्थानीय संस्कृति अनुभूत गर्न सकिने भएकाले राइनासकोटलाई प्रकृति र संस्कृतिको संगमका रूपमा पनि लिन सकिन्छ ।
राइनासकोटको पहिचान पर्यटनसँग मात्र सीमित छैन । ऐतिहासिक तथा धार्मिक दृष्टिले समेत यसको विशेष महत्त्व छ । सिद्धबाबा, कोटेश्वर महादेव र कालिका मन्दिरलगायत धार्मिक स्थलले गाउँको पुरानो आस्था र इतिहासलाई प्रतिबिम्बित गर्छन् । वीर भक्ति थापासँग जोडिएको इतिहासका कारण यहाँ भक्ति थापा पार्कसमेत विकास गर्ने प्रयास भइरहेको छ ।
शान्त पहाडी परिवेश, गुरुङ संस्कृति, पुराना परम्परा र हिमशृंखलाको दृश्यले राइनासकोटलाई लमजुङको आकर्षक ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?