काठमाडौं । सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना प्रचार र पर्याप्त पूर्वाधारको अभावमा ओझेलमा परेको छ । करिब ५०० मिटर क्षेत्रभित्र रहेका तीनवटै झरना प्राकृतिक रूपमा आकर्षक भएपनि यहाँ पर्यटकको उपस्थिति न्यून छ ।
ककनी खोलाबाट बनेका झरनामध्ये पहिलो गाउँबाट करिब १० मिनेटको पैदल दूरीमा छ भने दोस्रो पुग्न करिब २० मिनेट ओरालो हिँड्नुपर्छ । तेस्रो झरना भने खोचभित्र रहेकाले पुग्न कठिन छ ।
पहिलो र दोस्रो झरनासम्म पुग्न पदमार्ग, रेलिङ, विश्रामस्थल र काठेपुल निर्माण गरिए पनि थप पूर्वाधार आवश्यक रहेको स्थानीय बताउँछन् । ककनी चम्पादेवी मन्दिर नजिकै रहेको यस क्षेत्रमा स्थानीयले पर्यटकका लागि होमस्टे सुविधा पनि संचालन गरेका छन् ।
ओखलढुङ्गा सदरमुकामबाट करिब तीन घण्टामा पुग्न सकिने तीनछाँगे झरनाको प्रचारप्रसार र पहुँच सहज बनाउन सके यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?