काठमाडौं । कुनै समय गाउँघरको मुख्य खानाका रूपमा रहेको कोदो पछिल्लो समय भोजपुरका बारीबाट हराउँदै जान थालेको छ । खेतीमा धेरै मेहनत लाग्ने, आम्दानी कम हुने र बजारको सुनिश्चितता नहुँदा किसानले कोदो छाडेर अन्य बाली रोज्न थालेका छन् ।
टेम्केमैयुङ–६ का किसान रामकुमार राईले अधिकांश किसानले घरायसी उपभोगका लागि मात्र अहिले कोदो लगाउने गरेको बताउँछन् । स्थानीय बजारमा कोदो प्रतिगोटा १४० देखि १७० रुपैयाँसम्म बिक्री हुने गरेको छ । मूल्य राम्रो भएपनि उत्पादन र बिक्रीको सुनिश्चितता नहुँदा किसान व्यावसायिक खेतीमा उत्साहित देखिएका छैनन् । आधुनिक खानपानले गर्दा कोदो खानेको संख्या घट्दै गएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरले जिल्लामा करिब पाँच हजार हेक्टर जमीन कोदोखेतीका लागि उपयुक्त रहेपनि किसान तरकारी, फलफूल र अन्य नगदेबालीतर्फ आकर्षित भएको बताउँछ ।
कोदो भोजपुरको खाद्य परम्परा र पहाडी संस्कृतिसँग जोडिएको बाली भएकाले यसको संरक्षणका लागि उत्पादनसँगै बजार र उचित मूल्यको सुनिश्चितता आवश्यक रहेको किसानहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?