काठमाडौं । आर्थिक मन्दी, कर्जाको अभाव र लगानीयोग्य पुँजीको कमीले मधेस प्रदेशमा आर्थिक वर्ष २०८२-०८३ मा १ हजार ९ सय ३८ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ फर्मको लगत कट्टा भएको जनाएको छ ।
यद्यपि, सोही वर्ष प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै पर्सामा १ हजार १०१ र सबैभन्दा कम सप्तरीमा ३१४ उद्योग दर्ता भएका छन् । यस अवधिमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन् ।
वाणिज्यतर्फ ६ हजार १४० नयाँ फर्म दर्ता हुँदा ११ हजार १४४ फर्म नवीकरण भएका छन् । दर्ता तथा नवीकरणबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा कमी, पुँजी अभाव र स्थानीय तहबाट समेत उद्योग दर्ता हुने क्रम बढ्नुले प्रदेशमा उद्योग–व्यवसायको लगत कट्टा बढेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?