स्थानीय निर्वाचनका उम्मेदवार छान्न रास्वपाले खोल्यो ‘क्यान्डिडेट क्लब’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले उम्मेदवार बन्न इच्छुक र योग्य व्यक्तिलाई आवेदन दिने अवसर उपलब्ध गराउने निर्णय गरेको हो । महामन्त्री विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार पारिएको उम्मेदवार छनोटसम्बन्धी रूपरेखा कार्यान्वयन तथा समन्वय गर्ने विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको पार्टीले जनाएको छ ।
उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन बैठकले विभिन्न सातवटा उपसमिति गठन गरेको छ । पार्टी प्रवक्ता जगदीश खरेलले ‘क्यान्डिडेट क्लब’को संयोजन कविन्द्र बुर्लाकोटीलाई दिइएको बताउनु भयो ।
त्यसैगरी, प्रविधि उपसमितिको जिम्मेवारी सुशान्त वैदिक, गुनासो समन्वयको जिम्मेवारी जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिताको जिम्मेवारी डा. तोशिमा कार्की र क्षमता विकास समन्वयको जिम्मेवारी टासी ल्हाजोमलाई दिइएको छ ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र समन्वित बनाउन उपसमितिहरूमार्फत काम अघि बढाउने तयारी गरेको छ । ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसँगै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिका लागि छनोट प्रक्रियामा सहभागी हुने बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?