अर्नब चक्रवातको असर घट्दै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात सम्भावना
काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसममा क्रमिक सुधार आउने भएको छ ।
माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा आंशिक बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली कायम रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने भएकाले बिहानको समयमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गएसँगै पछिल्लो समय प्रभावित मौसममा सुधार आउने देखिए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना भने कायमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?