काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा संचालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरिएको कारबाहीमा उनीहरूबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ, चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गर्न पाइने नियन्त्रित औषधि, २० हजार २०० रुपैयाँ नगद र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, झापा, सुनसरी, पर्सा, लमजुङ, बर्दिया र कैलालीका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । काठमाडौंका दुई स्थानबाट तीन जना, झापा र सुनसरीबाट दुई–दुई जना, पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना तथा कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौंको चुच्चेपाटीबाट चार ग्राम २५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र २० हजार २०० रुपैयाँ नगदसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट छ ग्राम ७४० मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–५ खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र वडा नं. १ का २५ वर्षीय चैतन हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम उक्त पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित औषधि डाइजेपामका २७, फेनारगनका २९ र बुप्रेनोर्फिनका २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ का २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका छन् । लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनका १०-१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा जाँच गर्दा १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् ।
त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । बरामद पदार्थ परीक्षण तथा अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले प्रहरीले त्यसलाई ब्राउनसुगरजस्तो देखिने पदार्थका रूपमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?